राष्ट्रपति विद्यादेवी भण्डारीलाई ओहदाको प्रमाण-पत्र बुझाए लगत्तै नेपालका लागि नवनियुक्त भारतीय राजदूत विनयमोहन क्वात्राले राजनीतिक भेटघाटलाई तिब्र बनाएका छन्। प्रमाणपत्र बुझाएको २४ घण्टा नबित्दै उनले मंत्रीदेखि राजनीतिक दलका नेताहरुसँग भेटघाट सम्पन्न गरिसकेका छन्। उनको सक्रियतलाई लिएर सामाजिक सञ्जालमा विभिन्न कोणबाट छलफल र बहस भइरहेको छ। एकथरीको विश्लेषण छ, के क्वात्रा यस अगाडिका राजदूत मन्जीव सिंह पुरी भन्दा बढी सक्रिय रुपमा प्रस्तुत हुन खोज्दैछन् ? नेपालमा ऐतिहासिक रुपमा भारतीय राजदूतहरुको पहिचान आखिर यस्तै न छ।
पूर्व राजदूत पुरीको शैली भने अलि पृथक रह्यो । एक त उनले अघिल्ला राजदूतहरुले झैँ अनावश्यक सक्रियता देखाएनन्। साथै उनले नेपालको आन्तरिक मामिलामा खासै सार्वजनिक अभिव्यक्ति दिएनन् र देखिने गरी हस्तक्षेप पनि गरेनन्। बरु उनले संविधान संशोधनको माग राखेर आन्दोलन गरिरहेका मधेशवादी राजनीतिक दलहरुलाई स्थानीय र संसदीय निर्वाचनमा जानका लागि अभिप्रेरित गरे। यति मात्र होइन्, आफ्नो कार्यकालमा पुरी संचार माध्यमसँग पनि त्यति घुलमिल भएनन्। कार्यकाल सकेर जाने बेलामा मात्र पुरीले संचार माध्यमसँग खुलेर केही कुरा गरे।
क्वात्राको दुई दिनको दौडधुपले उनी पुरीभन्दा बढी सक्रिय हुने संकेत दिएको छ। यसले नेपाल–भारत सम्बन्धमा कस्तो असर गर्ला ? हुन त कुनै पनि देशको परराष्ट्र नीतिका आधारभूत मान्यताहरु कुनै व्यक्ति परिवर्तन हु्ँदैमा नबदलिएपनि समय अनुसार परिवर्तन भने हुनसक्छन्। नयाँ राजदूत आउँदैमा भारतको नेपालप्रतिको आधारभूत नीतिमा परिवर्तन आउने होइ्न्। तर, कुनै पनि नयाँ राजदूतको व्यक्तित्व र काम गर्ने शैलीले भने केही फरक पक्कै पार्छ। पछिल्ला दुई दशकमा काठमाडौँ आएका भारतीय मात्र होइन्, अन्य शक्ति राष्ट्रका राजदूतहरुको हकमा पनि त्यो देखिएकै हो।नवनियुक्त भारतीय राजदूतको काँधमा केही निश्चित जिम्मेवारीहरु रहेका छन्। जिम्मेवारी निर्वाह गर्ने तरिकाले पनि दुई पक्षीय सम्बन्धमा अर्थ राख्छ।
नेपाल–भारत सम्बन्धको कुरा गर्दा हाल कालापानीको विषय धेरै चर्चामा छ। यसमा तत्कालै समाधानको सम्भावना एकदमै कम भएपनि नेपाल सरकारले कम्तीमा परराष्ट्र सचिव तहमा वार्ता चाहेको छ। सरकारले वार्ताका लागि पटक–पटक ताकेता गरेपनि भारतले खासै चासो दिएको छैन। नेपालका लागि नयाँ राजदूत नियुक्त गर्ने प्रक्रियामा रहेको र यही समयमा भारतको नयाँ विदेश सचिवको पनि नियुक्ति भएका कारणले पनि यो विषय अगाडि बढ्न सकेको थिएन। यदि कालापानीको विषयमा वार्ता मात्रै अगाडि बढ्यो भनेपनि दुई पक्षीय संबन्धमा महत्वपूर्ण कदम हुनेछ। यतिखेर समग्र नेपालीको भावना भारतसँग सिमा विवाद सम्बन्धी वार्ता तत्काल होस् भन्ने रहेको छ जसलाई भारतले सम्मान गर्नु उचित हुनेछ।
अर्काे विषय हो, दराजमा थन्किएको नेपाल–भारत प्रबुद्ध समूहको प्रतिवेदन कार्यान्वयन। नयाँ राजदूतले सो प्रतिवेदन दुवै देशका प्रधानमन्त्रीलाई बुझाउने वातावरण बनाउनको लागि महत्वपूर्ण भूमिका खेल्न सक्छन् र खेल्नुपर्छ। यस बाहेक उनले पूर्व राजदूत पुरीले अपनाएको नीतिलाई निरन्तरता दिनु नै श्रेयश्कर हुने देखिन्छ। नेपालको आन्तरिक मामिलामा भारतको हस्तक्षेपको विषयले विगतमा बारम्बार समस्याहरु आएका छन्। त्यसैले नयाँ राजदूतले पनि नेपालको आन्तरिक मामिलामा अनावश्यक चासो नराख्नु नै दुई पक्षीय सम्बन्धको लागि हितकर हुनेछ। नेपालमा आफू अनुकुलको सत्ता निर्माण गर्ने होइन कि लोकतान्त्रिक प्रक्रियाबाट जुन सरकार आउँछ उसैसँग मिलेर काम गर्नु दुई पक्षीय सम्बन्धको लागि सहयोगी बन्न सक्छ।
यस बाहेक केही वर्षयता केही दुई पक्षीय परियोजनाहरुमा उल्लेख्य प्रगति भएको छ। त्यसलाई निरन्तरता दिनको लागि नयाँ राजदूतले अझै भूमिका खेल्नुपर्ने देखिन्छ। भारतले परियोजनाहरु समयमा सम्पन्न गदैन भन्ने आम धारणामा परिवर्तन ल्याउन ती परियोजनाहरुलाई सकेसम्म छिटो सम्पन्न गर्न आवश्यक छ। पछिल्ला वर्षहरुमा भारतीय लगानीका परियोजनाहरुमा उल्लेख्य प्रगति भएको छ र नयाँ राजदूतले यसलाई उच्च प्राथमिकता राख्नुपर्छ।
सुरक्षासँग सम्बन्धित विभिन्न विषय, चीनको बढ्दो प्रभाव र नेपालको कुनै तेस्रो मुलुकसँगको सम्बन्धका अन्य कतिपय विषयहरु पनि छन्। यस्ता विषयहरुमा विश्वासको वातावरण तयार पारेर अगाडि जानुपर्छ। सुस्ता र कालापानी बाहेक अन्य क्षेत्रमा रहेका सिमा सम्बन्धि प्राविधिक विषयहरुलाई हल गर्ने कार्यलाई समेत प्राथमिकतामा राख्न आवश्यक छ किनकी सिमा क्षेत्रमा देखापर्ने समस्याले पनि दुई पक्षीय सम्बन्धमा दरार ल्याउने गर्दछ ।अझ महत्वपूर्ण विषयहरु व्यापार र वाणिज्यसंग सम्बन्धित छन्। कतिपय सन्दर्भमा भारतले लिने निर्णयहरुले नेपाली उत्पादनहरुको भारतमा निर्वाध प्रवेशमा समय समयमा कठिनाईहरु उत्पन्न हुने गर्दछ। त्यस्ता विषयलाई गम्भीरतापूर्वक लिई समस्या आउनु भन्दा पहिला नै समाधान गर्ने प्रयास गर्नु आवश्यक देखिन्छ।
नेपालले यतिबेला भारत र चीनसँग सन्तुलित सम्बन्ध बनाएर अगाडि बढ्न चाहेको छ। छिमेकीसँग सन्तुलित सम्बन्ध निर्माण गदै अन्य शक्ति राष्ट्रहरुसँगको सम्बन्धलाई पनि नेपालले गुणात्मक ढंगले अगाडि बढाउन चाहेको छ। आफ्नो राष्ट्रिय हितलाई केन्द्रमा राख्दै स्वतन्त्र परराष्ट्र नीति सञ्चालन गरिरहेको नेपालले छिमेकी मुलुकबाट यसमा अवरोध होइन, सहयोग चाहिरहेको छ। नयाँ भारतीय राजदूत क्वात्राको कार्यकालमा नेपाल-भारत सम्बन्ध अझ प्रगाढ हुन सकोस्।